• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता - नारी वेदना- भवानी तिमल्सिना नेउपाने

Published : 2 years ago


तिमी बात बातमा

मलाई तर्साउँदै ,

लात बर्साउँदै ,

भन्छौ थुक्क  पशु !

तर तिमीलाई थाहा छैन होला सायद ,

तिमी भित्र एउटा यस्तो पशु छ ,

जो बिना कारण,

बिना गल्ती ,

मसंग सिंगौरी खेल्न आईरहन्छ ।

अब भन म पशु कि तिमी ?

 

तिमीलाई लाग्दो होला

कि म तिमीले दाम्लो सम्झिएर

लगाई दिएको पोतेलाई

सौभाग्य सम्झेर

आफ्नो गलामा लगाईरहन्छु ।

तिमीले नथ्थी सम्झिएर

दिएको फुलीलाई

गहना सम्झेर आफ्नो नाकमा सिउरी रहन्छु ।

त्यसैले म पशु हुँ ।

तर आफुलाई हेर त ,

घरमा मलाई बाँधेर

सधैं अर्काको बाली चर्न हिड्ने तिमी,

के हौ ?

पशु म कि तिमी लु भन ?

 

तिमी मलाई दास सम्झी

आफना मैला कपडा

जताततै हुर्याउँछौ

गोरुले आफ्नै थलामा गोब्य्राए जस्तो ।

म जतन गरि

धोएर राखिदिन्छु ।

 

म आफ्ना हात डढाएर

तिम्रोलागी स्नेहले खाना बनाउँछु

तिमी छि ११ नमिठो भन्दै

नाक खुम्च्याउँछौ ।

खोले खान नमान्ने राँगो जस्तो,

सधैं हरियों घाँस खोज्दै रन वन चहार्छौ ,

तर पनि म तिमीलाई भान्सामा कुरीरहन्छु ।

 

तिम्रा सबै ज्यादती सहेर पनि

कसैले तिम्रो बारेमा

एक शब्द नराम्रो बोले

म रणचण्डी बन्दछु ,

तिम्रो ईज्जत् लाई आफ्नो सौभाग्य मान्दै

तिमीबाटै दैनीक बलात्कार सहन्छु ।

 

तिमी आफ्नो इच्छा हेर्छौ

म तिम्रो ईच्छा हेर्छु

तिमी आफ्नो खुसी खोज्छौ

म तिम्रो खुसी खोज्छु

तिमी आफू रमाउन चाहन्छौ

म तिमी रमाएको हेर्न चाहन्छु

 

लु भन ,

साँच्चै पशु को हो ?

तिमी कि म ?

 

भवानी तिमल्सिना नेउपाने

हेटौडा, मकवनपुर