कबिता- अवशेष-जीवन युगीन
Published : 3 years ago

अवशेष
आधा थिएँ
सम्पूर्णता चाहेर
तिमी समीप पुगें
मेरो मन
पूर्ण बन्न खोज्यो
मस्तिष्कले
तिम्रो समिप्यता रोज्यो
हृदयले तिम्रो
आभास
तरंग
दवाबभित्र
एक खालको शितलता
अनुभूत गरिरह्यो
अनुभूतिको त्यहि उहापोहभित्र
ईन्द्रेणी जस्तो
गुरुत्व जस्तो
स्पर्श जस्तो
शरीर जस्तो
र शरीरभन्दा पृथक जस्तो
सायद !
प्रेम प्रार्दुरभाव
भएर बगिरहेजस्तो
ठानिरहें-आफैभित्र
जुन धाराभित्र
रुप र सार
अल्प र आकाश
संकुचन र विस्तार
उज्यालो र अँध्यारो
हिजो भन्दा भिन्न
लाग्न थाले
नढाँटी भन्छु
तिम्रो स्वरुप
भित्र कतै चट्टान जस्तै
कुँदिएको छ-
सायद !
म भावनामा बगें कि ?
गहिराईमा भासिएँ कि ?
आधा थिएँ
अवशेष भएँ कि ?
तिमी सरासर
सौन्दर्य साधन रोजेर
हाटबजार हिंडेकै
ताल,
सुर
र संगीतमा हिंडिदियौ
तिमी समीप पुगेर
थोरै आफैलाई
छोएझैं लाग्दैथ्यो -
तिमिलाई बुझ्न त बाँकि छँदैथ्यो
क्या ! चाल मारेर गयौ
क्या ! बाजि मारेर गयौ
शेष नराखेर भावनाहरू
प्रेम एक अवशेष हो
सिद्ध गरेर गयौ
अब त्यसैलाई उत्खनन् गरुँ कि
अर्को ईतिहास शुरु गरुँ ?
म अन्यौलमा छु
तर गयौ भन्न पनि
गाह्रो !
छ्यौ यहिं कतै
कसैको भागमा,
कसैको भाग्यमा
अर्धांगिनिको रुपमा…
आखिर
पूर्णताकै आधा हिस्सा हुन सम्म थियो भने,
आखिर
लुखुरलुखुर हिंडेर उस्तै छापमा उत्रिनु थियो भने
स्वस्फुर्त प्रेम र जीवनका
सारा भौतिक-अभौतिक
निर्माणहरुलाई
किन अवशेष बनायौ ?
मैले पूर्णता छुन
खोजेर
यादको चट्टानमा जे शेष भएँ
तिमी,
गतिशील भएर आफैभित्र
अवशेष सम्म पनि छ्यौ त ?
जीवन युगीन
नवलपरासी