• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कबिता-आमा अर्थात आमा- शान्ति अधिकारी

Published : 3 years ago


आमा अर्थात आमा

वर्षौंपछि बुझ्दैछु

तिमीले सन्तान जन्माउनुको अर्थ,

न त सन्तानभित्र आफूलाई पाउनु नै थियो,

न त सन्तानलाई आफ्नो बनाउनु नै

थियो त केवल योवनको आगो निभाउँदाको एक भुल

या भनुँ मनको तिर्खा मेट्दाको

चरम सन्तुष्टि,

 

त्यसैले तिम्रो रगतबाट निर्मित 

आफ्नै सन्तानसँग,

तिम्रो नाता गाढा हुन सकेन,

आकारहीन रगतको डल्लोमा

आकार दिएर,

एकै श्वासप्रश्वासबाट बाँचेका भएनि,

खै सम्बन्ध  प्रगाढ  हुन सकेन,

चोट र दुखाइ  एकै हुन सकेन,

हँसाइ रुवाइले हृदय छुन सकेन,

 

कहिल्यै जगाउन सकेन

तोतेबोली र नरम हातहरुको स्पर्शले

कठोर अनि निष्ठुर मनमा माया

अनि कहिल्यै पाउन सकेनन्

सन्तानले आमाको ममता

 

सन्तान प्राप्तिको सौभाग्य पाएर पनि

पुलकित  हुन नसकेकी तिमी

तिनै सन्तानको हरखुसीमा 

आल्हादित हुन नसकेकी तिमी

कसरी आमा हुन सक्छ्यौ नि !

 

सन्तान जन्माउनुको अर्थ आमा बन्नु होइन,

आमा बन्नलाई सन्तान जन्माउनै पर्छ भन्ने पनि होइन

तिमीले बुझ्नुपर्ने थियो

आमाको अर्थ सागरको गहिराइ र हिमालको

अग्लाइसँग कहाँ  नापिन्छ र !

आमाको ममतामयी छातीले आकाशलाई नै सानो बनाउँछ ।

 

सन्तान त मात्र एक रंग हुन्

जुन रंग सजाउन सक्यो भने

कोरा कागजलाई रङ्गीन मात्र हैन

जीवन्त बनाउँछ

सन्तान त कागजमा लेखिएका गीत न हुन्

वास्तवमा,

सन्तान सतही पानी हुन्

जुन जीवनलाई सार्थक बनाउने कुशलता

भनु कला मात्र आमामा हुन्छ

 

 

अनि त निर्धक्कले भन्न लाग्छ

आमा कुशल चित्रकार हुन्

आमा विशाल शब्दकोष हुन्

आमा गीतकार हुन्

आमा संगीतकार हुन्

आमा धर्ती हुन्

आमा कहिल्यै नसुक्ने पानीको मूल हुन्

आमा पवन हुन्

अझ भनुँ आमा सबथोक हुन्

 

त्यसैले यी सबैबाट रित्तो भएकी तिमी

तिमी आवाद भएर पनि बाँझिएकी छ्यौ,

हुन त धर्ती हौ,

न नदी बन्यो न माटो,

बन्यो त केवल ढुङ्गा

आमा अर्थात् तिमी  भएरै पनि

सन्तान बेवारिसे भएका छन्

ममताविहीन र कर्तव्यविमुखहरू

सन्तान जन्माएर पनि

कहिल्यै आमा बन्न सक्दैनन्

तिमीले पनि सम्झनु पर्थ्यो आमा र सन्तानको सम्बन्ध

महसुस गर्नु पर्थ्यो मायाको स्वर्णिम आनन्द

किनकि,

सन्तान जन्माउनु मात्र आमा बन्नु होइन ।।

 

शान्ति अधिकारी

बाँके