कबिता- नेपाल प्यारी- रमा खतिवडा
Published : 2 years ago

नेपाल प्यारी
भयो मिर्मिरे चरी चिरिबिरी गाऊ
डाक भाले सुस्तरी प्रात जगाऊ
चाँदि ओढ हिमगिरी शशी उदाऊ
नेपाल प्यारी तिमी मुस्कुराऊ।।
सिम सिम झरी तुसारो लेकाली चित्र
पाखै रङ भर नौरङी फुल बिचित्र
डाँफे मयुर नाँच बुकी बसाऊ
नेपाल प्यारी तिमी मुस्कुराऊ।।
घुम्ती र थुम्की हरियाली पाखा
मनै लोभ्याउ प्रकृतिकी छ्टा
बिसाउदा चौतारी पवन सिर्सिराऊ
नेपाल प्यारी तिमी मुस्कुराऊ।।
परिश्रमी हात लटरम्म बाली
संस्कार संस्कृतिको पुर्ण भकारी
लटरम्म फलेर डाली झुलाऊ
नेपाल प्यारी तिमी मुस्कुराऊ।।
तराईका फाँट समथल गरामा
बयली खेल्ने ती सुनकेसरामा
लुकि जुनेली सितको पृत बर्साऊ
नेपाल प्यारी तिमी मुस्कुराऊ।।
मनोरम प्रकृति बस्ती र गाउँ
रारा फेवा रुपा सगै म रमाऊ
तिम्रै काखको प्यारो माटोमै बिलाऊ
नेपाल प्यारी तिमी मुस्कुराऊ।।
रमा खतिवडा
पोखरा