• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुक्तकहरु- राज बस्नेत

Published : 1 year ago


पठाउनै पर्ने थियो हर बखत, र त पठायो

देख्यो अनि भोग्यो हकिकत, र त पठायो

बिदेसमा अनेक दुख गरि कमाएको पैसा

सम्झियो बा आमाको जरुरत, र त पठायो

 

सही थिए या त फजुल, ठम्याउनै सकिन

आफन्तै हुँदा प्रतिकुल, ठम्याउनै सकिन

मनको नजिक सम्झेर बिस्वास गरिरहँदा

कतिबेला भएछ भुल, ठम्याउनै सकिन

 

थोरै बिरोध के गरेको थियो, मानहानी ठहरियो

फैसला सुनाइयो अनि ठुलै, नोक्सानी ठहरियो

ठुला बडाकै चलेको देखियो गाउँ पन्चायतमा

बिचरा गरिब दुखीको प्रमाण, खरानी ठहरियो

 

जानेर हो या त नजानी, बनायौ                               

खै कसो गरुँ आनाकानी, बनायौ

तिमी प्रतिको मेरो अटुट बिस्वास

जलाएर आखिर खरानी, बनायौ

 

पठाएको छु सम्झना उपहार, समुन्द्र पारीबाट

बगिरहने छालहरु झैँ लगातार, समुन्द्र पारीबाट          

मनै त हो नि स्थिर कहाँ हुन्छ र चाहेको बेलामा

पुगि रहन्छ तिमी तिरै बार बार, समुन्द्र पारीबाट                

 

राज बस्नेत

घोराही उपमहानगरपालिका दाङ्ग