• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता - पसिना बर्षा - हिरा भट्ट

Published : 2 years ago


पसिना बर्षा

 

मेरो देह चुह्यो विदेश छरियो हाँस्यो रुखो बालुवा

खै देखिन्न मभित्र आज हरियो फुल्दो टुसा पालुवा

गर्थेँ स्वागत आउनू नव उषा घन्काउँदै मादल

पानी हैन अभाव छैन पसिना बर्साइदे बादल ।१।

 

मेरा पूर्वज वीरता र पसिना संसार छर्दै गए

थोपा खोज्दछु आज सिन्धु म हरे ! बाँझो र प्यासी भएँ

ताजा याद छँदै छ सिंहसरिको गर्जी हिँडेको पल

मेरै भूमिविषे अमूल्य पसिना बर्साइदे बादल ।२।

 

खानी स्वर्ण हुँ है कुबेर जगको छाम्छौ भने ढुक्ढुकी

चाँदी यो शिरमा थियो सुन बन्यो मेरै तराई पुगी

लैजा सापट दिन्छु यो हृदयले मेची र काली जल

फेर्दै रूप सुधा समान पसिना बर्साइदे बादल ।३।

 

हेर्दै दिव्य वसुन्धरा दिल भरोस्  हाँसो छरोस्  खित्खित

मेरै हुन् दिल माग्छु शान्त गहिरा फेवा र रारासित

मेरो देह उडानले भुवनमा ल्याओस् नयाँ हल्चल

मेरै शैल मधेसमाझ पसिना बर्साइदे बादल  ।४।

 

सेतो मेघ उडाइदे जल चुसी आकाश डुल्ने रवि

मेरै शैलसमक्ष ठक्कर दिई छाओस् लुकेको  छवि

मेरो देह हराभरा सुन बनोस् आत्मा बगोस्  कल्कल

पानी हैन अभाव छैन पसिना बर्साइदे बादल ।५।

 

छन्द: शार्दुलविक्रीडित

रचनाकार : हिरा भट्ट

जन्मस्थल-पञ्चेश्वर-६,बिजुल,बैतडी