• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

श्रीमान् श्रीमतीको मुक्तक दोहोरी- रज्जु बिडारी ‘काली’

Published : 1 year ago


श्रीमती-

कस्तो दिनमा यो घरमा म डोलि चढी आइछु।

हे भगवान् कुन जुनिमा यिनको ऋण खाईछु।

भावनाको कदर गर्न तिमीले जानेनौ कहिल्यै ।

कुन साइतमा तिम्रो हातको सिन्दुर पोते लाइछु।

 

श्रीमान्-

तेरा गाला चाट्नु पर्ने हो र माया देखाउन मैले ।

कुन मायाको कुरा गर्छेस् के खोजेकी होस् तैंले।

घर कार गहना पैसा नोकरचाकर केको दुख छ र ?

फेरि गनगन मात्रै गरिरहन्छेस् किन बुढी जहिले।

 

श्रीमती –

छोराछोरी हुर्किदा नि अझै  डेटिङ तिर धाउछौ।

आधा रातमा लरखराउदै हल्ला गर्दै आउछौ।।

तनको सुख दिए पनी मनको शान्ति नदिनेले।

रानी बनाई पालेकोछु भन्दै किन फुर्ती लाउछौ।

 

श्रीमान्-

साथीभाईले करकाप गर्छन् मलाई पाटी हुदा।

केटी सँग लाग्यो नभन् यसो झुक्किएर छुदा।

बरु कसैसँग त पो लागेकी पो छेस् कि अचेल ।

कामबिशेषले घर छोडेर म सधैं बाहिरतिर हुदा।

 

श्रीमती -

किरा परि मर्लाउ बुढा नचाहिने दोष लाउदा।

कसरी भन्न सक्यौं सीता जस्ती बुढी पाउँदा।

नभएको पाप तिमीले मलाई किन चिताउछौ।

दुनियाँले देखेका छन् बरु तिमी अन्त धाउदा।

 

श्रीमान्-

गलामा रानिहार हातमा लाउछेस् सुनका चुरा।

तेरा हरेक आवस्यकता र रहर गरेकै छु पूरा।

कहिलेकाहीँ स्वाद फेरेनी घरमा ल्याको छैन ।

जवानीको जोसमा के भो नगर बितेका कुरा।

 

श्रीमती-

त्यसो भए मैले पनि डेटिङ धाए कसो गर्छौ ?

तिमीलाई छोडी अन्तै माया लाए कसो गर्छौ ?

बिस्वास तोडी मैले पनि जे पनि गर्न सक्छु ?

तिमीलाई झै मलाई अरुसँग पाए कसो गर्छौ ?

 

श्रीमान्-

जवानीको जोसमा गल्ती गरे आफु रमाएर।

मिल्दो रहेनछ खुसीहरु पैसा मात्रै कमाएर।

सत्य बुढी तिम्रो बिस्वास तोड्ने छैन अब।

छोड्छु कुलत ,खान्छु कसम गिता समाएर।।

 

‘माया र बिस्वास र इमानदारी  दुबै तर्फ हुनुपर्छ ।।’

 

रज्जु बिडारी ‘काली’

धार्के,धादिङ ।।