• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

लघुकथा – ‘असली कुरा’- गोम बिक्रम

Published : 9 months ago


असली कुरा

 

असारको महिना खेतभरी रोपार, बाउसे, हलीहरु छापिइसकेका थिए । कोही व्याडमा, कोही आली ताछ्दै, कोही जोत्दै कोही खोकमा गोरु कुँदाउँदै थिए । सबैलाई काम थियो । हेर्दा-हेर्दै ललितेको ठूल्गरो बढङ्ग पहिरो गएर तल गोपालको हिल्याउँदै गरेको खेत पुर्यो । रोपाइँ ठप्पै भयो ।

‘हिजै पानी नले भनेको थिएँ । जथानामको पानी ठोक्यो कसरी थामोस् ? गइहाल्यो । ल बनाइदे काइते । अस्ति व्याडको त्यतिका बीउ स्वाहा पारे तेरै डाम्नाले ।’ गोपाल रिसले मुर्मुरियो ।

‘बर्खामा जाने खेतलाई कसैले रोक्न सक्छ र कुरो पनि ! अझ मलाई बना अरे ? कोसित जोरी खोजिस ए गोपाले कम्ता ठान्या छस् ?’ ऊ पनि किन दबिन्थ्यो र ?

‘पुर्खौदेखि यसका खलकको टस सहीसक्नु छैन । ल बनाइदे मेरो खेत ! बनाउँछस् कि ठेगान लगाम ?’ सोझो गोपालले रिसमा आँखा देखेन । नजिकको कोदालो टिपेर जाई लाग्यो । अरुले रोक्न खोज्दै थिए सकेनन् । वास्तवमा ललितेको गल्ति भए पनि कसैले मुख फोर्न सक्दैनथे । बरु गोपाललाई सम्झाउन सकिन्थ्यो ।

रोक्दारोक्दै गोपालले २/४ बक्सिङ नाकैमा ठोकिहाल्यो नाकमुखबाट रगतका धारा बगाउँदै ललिते बेहोश भएर ढल्यो । सारा खेताला जम्मा भए । तुरुन्त अस्पताल लाने व्यवस्था मिलाइयो ।

‘खेत गयो त गयो त्यसरी ज्यादै निर्मायाले हान्नु हुँदैनथ्यो । केही गरी ज्यान गई हालेका भए …..?’

ग‍ोपालकी दुलहीको अनुहार मलिनो थियो ।

घटनामा ललितेको नाकको हड्डी भाँचिएक‍ो रहेछ । छातिमा पनि निकै मर्का परेको रहेछ । महिना दिन अस्पताल बसेर फर्कियो ।

छिमेकी भए पनि गोपालको बर्षौंदेखि ललितेसित बसाउठी थिएन । श्रीमतीसितबाट सबै कुरा चल्थ्यो ।

कैयौ पटक मिटिङ् भए । गोपाललाई उपचार खर्च भराउने कुरो भयो नत्र केस ठूलै चल्ने देखियो । आफू मराणासन्न र घाइते भएकाले ललितेले पनि नछोड्ने भयो । त्यसमाथि सक्दार थियो । ठाउँमा मान्छे चिनेका थिए । चाहे जे पनि गराइदिन सक्थ्यो । गाउँमा सबैतिर अनेक खालका हल्ला सुनिन थाल्यो । कसैले ‘ललितेलाई अझ पिट्न पर्थ्य‍ो !’ भने, कसैले ‘त्यति सारो रिस देखाउन नहुने गोपालले’ भने । तर जसले जे जे भने पनि आफै भुक्तभोगी सन्ते दाईको निर्णय बेग्लै थिय‍ो । बेलाबखत  त्य‍ो ललिते गोपालकी श्रीमतीसित नसल्केका भए,  भुन्टेपछिको गर्भ फाल्न नपरेका भए… खरबारीमा उनीहरुलाइ आफ्नै आँखाले नदेखेका भए त्यसरी रिसाउँदैनथे । त्यतिका घटना सहेरै त बसेका हुन नि । ललितेलाई कहिले कानून लाग्दैन । नत्र ठानेश्वर दाईकी छोरीको घरबार किन बिग्रन्थ्यो ? विदेश जाँदा हाल्देको भनी त्यतिका पैसा खाइदिँदा उल्टै निर्दोष हर्केलाई किन कारवाही हुन्थ्यो ? सान्नानी किन झुण्डिएर मर्थी । कुन दिन था’पाउँछ त्यल्ले भनिरहन्थे गोपालले । सन्ते दाईले थपे, ‘त्यसैको साटो फेरेका हुन् अहिले । ललितेले कम्तालाई तनाव दिएको छ समाजमा ? हुनेखाने भएर कोही बोल्न नसकेका मात्र । अशली कुरा त्यही त हो ।’

 

गोम बिक्रम

कल्लाबारी, पाल्पा ।

२०७५/०३/०३