• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

आठौँ राष्ट्रिय खेलकूद : एथ्लेटिक्स शुरु

Published : 1 month ago


 लमही, ५ वैशाख (रासस) :-  आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजदेखि दाङको बेलझुण्डी रङ्गशालामा एथ्लेटिक्स शुरु भएको छ ।    
    
 बेलझुण्डी रङ्गशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्सअन्तर्गत १०० मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुट खेल भएको छ । १०० मिटर दौडमा महिलातर्फ नेपाल आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जितेका थिए ।    
    
 उनले १२ मिनेट १९ सेकेण्डमा सो दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश पाँचकी जयरानी चौधरीले १२ मिनेट १९ सेकेण्डका साथ रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरी १२ मिनेट ५२ सेकेण्डका साथ कास्य पदक जित्न सफल भइन् ।    
    
 यसैगरी १०० मिटर पुरुष दौडमा एपिएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले ११ सेकेण्डमा दूरी पूरा गरेका थिए । कर्णाली प्रदेशका यमसाजन सुनारले ११ दशमलब १० सेकेण्डका साथ रजत पदक हात पार्न सफल भएका थिए भने आर्मीका आनन्ददेव चौधरीले ११ दशमलव १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भए ।    
    
 १० हजार मिटर महिला प्रतिष्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन् । दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पछाईंसँग समय भने समान रहेको थियो । पहिलो र दोस्रो स्थानमा रहने विश्वरुपा र राजपुराले ३७ मिनेट ३० दशमलव नौ सेकेण्ड रहेको थियो ।    
    
 यस्तै प्रदेश नं ३ की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलव छ सेकेण्डका साथ कास्य पदक जितिन् । १० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । उनले ३१ मिनेट ०३ दशमलव एक सेकेण्डमा दूरी पूरा गरेका छन् । गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलव ८ सेकेण्डका साथ रजत पदक जितेका थिए भने एपिएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलव तीन सेकेण्डका साथ कास्य पदक जिते ।    
    
 सटपुटतर्फ पुरुषमा आर्मीका टङ्कप्रसाद दाहालले स्वर्ण पदक जितेका छन् । उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते । यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन् ।    
    
 त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितिन् । उनले १२ दशमलव शुन्य चार मिटरमा स्वर्ण पदक जित्दै नयाँ रकेर्ड राख्न सफल भइन् । उनले आफ्नै पुरानो रेकर्ड ११ मिटर ५६ सेन्टिमिटरको रेकर्ड ब्रेक गरेकी हुन् ।    
    
 यसैगरी प्रदेश ५ की सङ्गीता अधिकारीले रजत तथा नेपाल पुलिसकी वसन्ती चौधरीले कास्य पदक जितिन् ।    
–––