• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता-बुवा म छोरी भए है ?- जनक पान्डेय'प्रेमिल'

Published : 1 year ago


बुवा म छोरी भए है ?

 

~बुबा म फेरि छोरी नै भए है

कति सपना सजाएका थियौ होला

त्यो पल्लो घरको ठुले मजदुर बोक्ने

चराले खाडिमा ओसार्दा,

तिम्ले सपना बुन्थेउ होला बुवा

जब माथिल्लो घरको साइलाले

बुवा आमालाई नै घुमाउन बिदेश लाँदा

अनि जिब्रोमा गड्ने त्यो परिकार खादा

तर तिम्रो सपना चक्नाचुर भएछ क्यारे

अस्ति भरखरै आएको भुकम्पले

जसरी तहस नहस बनायो बस्ती

हो त्यस्तै तहस नहस भए छ क्यारे

तिम्रा ती सपना पनि

किनकि म छोरी भएर जन्मिए है ?

हो म छोरी भएर जन्मिए

तिम्ले पहिले पनि त छोराको आसमा

धेरै म जस्तै छोरिलाइ यो धर्तिमै

न आउदै मारेर फालेका थियौ।

आज फेरि म छोरी भएर जन्मिए है

त्यही भएर त होला आमालाई देखि सहन्नौ

म हासेको अनि म बोलेको हेरि सहन्नौ

म घर बाहिर हिडेको रुचाउन्नौ

मेरि आमाको के दोष बा म छोरी हुनुमा

के मेरि आमाको मात्र दोष हो तिम्रो हैन ?

बा तिम्ले कति हेला गर्छौ है मलाइ

 

पारिजात पनि त महिला थिइन उनले

विश्वमा आफ्नो छवि छोड्न सफल भईन

अनि पासाङ ल्यामु पनि महिलानै हुन बुवा

देखेनौ कैयौ पुरुषले आट्न नसक्ने सामर्थ्य देखाइन

र त विश्वमा नेपाल भनी चिनाइन

उता झमक घिमिरे बिर्सेउ बा

तिनको त झन शरीर एक ठाउबाट अर्को ठाउमा

सार्न मिल्दैन त्यो देउरालिको चौपारिको ढुङ्गा जस्तै

तर पनि विश्व समक्ष एक

सक्षम महिलाको दर्जा पाएकी छन

अनि देखेनौ बा ती महिला

तिनै हुन सानो लाल्टिन बोकेर

विश्व युद्दमा आफ्नो ज्यान गुमाउने

को आशाको किरण बनेकी महिला फ्लोरेन्स

बा यस्ता हजारौ महिला जो एक

सफल ब्याक्तित्व बन्न सफल भएका छन

अनि बा म पनि त छोरी नै हो

के म पारिजात बन्न सक्दिन र ?

के म पासाङ बन्न सक्दिन र ?

अनि के बा म झमक बन्न सक्दिन र ?

अनि के बा म फ्लोरेन्स बन्न सक्दिन र ?

 

सक्छु बा म पारिजात बन्न सक्छु

सक्छु म पासाङ बन्न सक्छु

अनि सक्छु झमक जस्तै बन्न

अनि बन्न सक्छु फ्लोरेन्स जस्तै

म बन्न सक्छु अनेक सफल महिला जस्तै

म बन्न सक्छु यो देश हाक्ने मान्छे

बा के देख्यौ र म मा त्यस्तो ?

जो म जन्मिदा यति दुखी छौ

बा के सोच्यौ र मलाइ त्यस्तो ?

जो म हास्दा तिम्रो मन जल्छ

अनि बा के बुझ्यौ र त्यस्तो कुरा ?

जो छोरी एक खेलौना जस्तै छे

छोरी केही गर्न न सक्ने ठान्छौ भने बा

म आजै भन्छु बा

तिम्ले मलाइ हेर्नी दृष्टिमा माया ल्याउ

मलाइ सोच्ने दिमागमा झमक सम्झ

अनि मलाइ बुझ्ने मनमा एक सक्षम छोरी सम्झ

र हेर त यो दुनिया कति सुन्दर छ।

निस्क बा त्यो भुमरी बाट जहाँ

छोरा अनि छोरी बिच भिन्नता देख्छौ

ब्युझ बा त्यो छोरा पाउने आश बाट

अनि छोरिलाइ पनि आफ्नो सन्तान

मान त बा कति सुन्दर छ यो दुनिया

अनि बा मलाइ अङ्गाल न है

तिम्रो अंगालोमा बाधिन चाहन्छु

त्यो नङ र मासु जस्तै।

अनि बुन्न चाहन्छु  माकुराले जस्तै

अनेक सपनाका जालाहरु।।।

     

जनक पान्डेय'प्रेमिल'

नया बानेश्वर ,काठमाडौ