• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुक्तकहरु- बद्री उप्रेती

Published : 1 week ago


मुक्तक- १

 

माना फरक नाना फरक हाम्रो घरको छाना फरक

हामी बस्छौं  छुट्टा  छुट्टै  हामीले खाने दाना फरक

मुखमा सधैं तिखा  छुरा कसरी पत्याउँ तिम्रा कुरा

बिश्वास गर्न गाह्रो भयो, सधैं ढाट्ने बहाना फरक ।।

 

मुक्तक- २

 

बिउ  सबै टुसाउँदैन  कुहिएको जति नछानी कन

जे पायो  त्यहि  नबोल्नु  राम्रो सँग  नजानी कन

अप्ठ्यारोमा बोक्नुपर्छ आवश्यक परे ठोक्नुपर्छ

फलाम  पनि  सिधा  हुँदैन हतौडाले नहानी कन ।।

 

मुक्तक -३

 

सक्याभए तिम्रो पीडा सात समुन्द्र तारी दिन्थे

दु'ख आउने  बाटोहरू  मेरै हातले बारी दिन्थे

खुसी  राख्थें  सधैं  तिमीलाई  नमिलेर पो त

मिल्ने भए मेरो आयू सबै तिमीमा सारी दिन्थे ।।

 

मुक्तक -४

 

गाँस  अनुसार  मुख बाइन्छ

मन मिल्नेसँग माया लाइन्छ

अर्काको  देखेर  डाह  नगर्नु

देखेर हुन्न लेखेको  पाइन्छ ।।

 

मुक्तक -५

 

बाँदरको  घर   हुँदैन

फकिरको रहर हुँदैन

नदिनु मन  कसैलाई

बेइमानीको भर हुँदैन ।।

 

  बद्री उप्रेती

नयाँबजार, १६

काठमाण्डू