• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता-यस्तो हुन्छ माया- हिमा आचार्य

Published : 1 week ago


यस्तो हुन्छ माया

 

माया महसुस हो ।

टाढा हुदा पनि पल पल त्यही

अङ्गालोमा बेरिएको महसुस हुनु

यही तहो माया 

आँखा चिम्लदा

यतै कतै कसैले सुस्केराले कानमा भन्छ

'प्रिय् म यहाँ छु ।'

यही त हो माया

 

माया घाऊ हो माया ओखती हो ।

एक मुटु घाईते भए अर्को मुटु

 मलम पट्टी भएर आउनु

छिन्नभिन्न भएका सुनौला पलहरु

लाई दुई आत्मा मिली

स्मृतिमा भर्न सक्नु !

हो यस्तै हुनु पर्छ, माया ।

 

माया तडप हो ।

जती तडपियो त्यत्ति गाढा

बेसरी पोलोस मुटु अनि पो माया ।

नपोल्ने मुटु त  यमराजको मात्र हुन्छ ।

तड्पाईमा पनि मिठो आभास नै हुनु

हो यस्तै हुन्छ माया !!

 

दुखाई हो माया ।

छाती दुखिरहन्छ माया साँचो भए-

काडा झैं चसक्क चसक्क घोचिरहन्छ

तर मिठास कै अनुभुती हुन्छ

यही हो माया ।

 

माया डर हो ।

गुम्ने बिछोडिने डर ।

उस्को दिल दुख्छ कि भन्ने डर ।

एक पलको दुरीना मुटु गल्लिने डर ।

एकान्तमा रुँदा कसैले देख्ला भन्ने डर ।

अनि ऊ भन्दा पहिले मर्छु कि भन्ने डर ।

यहि हो माया ।  

 

 हिमा आचार्य

 इलाम