• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता - परदेशबाट- मदन घिमिरे

Published : 3 months ago


परदेशबाट

गोधुलिमा घाम डुब्नै  लाग्दा,

म मेरो देशलाइ सम्झिन्छु,

मेरो देशमा त घाम उदाउने बेला भयो ।

मिर्मिरेमा जुन अस्ताउनै  लाग्दा ,

म मेरो देशलाइ सम्झिन्छु,

मेरो देशको खबर लिएर,

मलाई भेट्न घाम आउने बेला भयो ।

 

सम्झन्छु,

झरी परेको त्यो पल,

मझेरीमा बाटा थापेर रात  कटाएपछी, 

घरको  छानोमा

खर फालेर टिन राख्छु भनेर  म परदेश आएको थिए ।

 

दिनभर ५५ तले भवनको

माथिल्लो तलामा काम गरेर फर्केपछी,

दुइतले खाटको माथिल्लो तलामा विश्राम गर्दै गर्दा

मेरो सपनामा  मेरो देश आउँछ,

जहाँ आफ्नै बाबूआमाको

झर्न लागेको फूलजस्तो मुहारमा पनि

सन्तुष्टि फुलाइरहेको म आफैलाइ देख्छु ।

जहाँ सगरमाथाको शिखरमा बसेर

विश्व चिहाइरहेको म आफैलाई देख्छु   ।

 

परदेशी अझै फर्कि नआउदा,

पिडामा पलपल एक्लै बिताउदा,

प्रीय मेरो देश !

मैले बिर्सियो नसम्झ,

मेरा बेदनाले मलाइ झस्काइरहन्छन् ।।

मेरा सपना ले तिमीलाई  सम्झाइरहन्छन् ।

 

मलाइ तिम्रो याद आइरहदा,

सात समुन्द्र पारीबाट माया पठाइरहदा,

प्रीय मेरो देश  !

मलाइ मनसुन नसम्झ,

जो एक सिजनमात्र बर्सन्छ ।

म त हरपल हरक्षण प्यार बर्साइरहन्छु ।

फूल ठानेर तिमीलाइ दिलमा सजाइरहन्छु ।।

 

 मदन घिमिरे

रुपा -६, कास्की ।