• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

घामको ताप र आगोको रापसँगै धेकेलिएको जीन्दगी

Published : 1 month ago


सम्झना श्रेष्ठ, सिन्धुली ।
    वसन्त ऋतुसँगै बैशाख जेठको तातो याम, सहन र स्वीकार्न अवश्य पनि गार्हो पर्छ । झन् समय–समयमा पानी नपर्दा, चारैतिर सुख्खा र उजाड बन्दा जनजीवन कष्टकर बनिदिन्छ । तर यो सब हुँदा हुँदै पनि सहनुपर्ने वाध्यता नै नियती बनेको छ । र यो पनि सत्य हो की समस्या नभएको मान्छे नै हुँदैन । लाग्छ जव समस्या र आवश्यकता सकिन्छ, तव जीवन पनि सकिन्छ । रहर र वाध्यताले जकडिएको यो जीवन नाउँको डुङ्गा काँहा सजिलै नदि पारी पुग्छ र ? फुत्त हाम फालेर जाने यात्रुहरुलाई कसरी पो थाहा हुन्थ्यो र डुङ्गालाई घरि वारी घरि पारी पुर्याउनुको कष्ट ।
जीन्दगीमा साहारा त त्यसबेला चाहिन्छ, जुन बेला यी हात पाउ बस्छन्, एकमुठी पानी तताएर खान सकीँदैन” हातगोडा चलुञ्जेल किन छोरा बुहारीको कमाई खानु ? सिन्धुली सदरमुकाम हस्पिटल रोडमा बाटो नजिकै मध्याह्नको ताप सँगै आगोको रापमा मकै पोल्दै बस्ने रत्नमाया साही आमाको यो कुरा किनकिन मनमै गडिरहे । मकै पोलेर बस्न बनाइएको सानो पालको टुक्रा, नजिकै सानो डालो जहाँ वदाम राखिएको थियो । त्यो पहिलो भेटमा एक घोगा मकै लिएर फर्किएका थियाँै साथि रमिला र म । अलि वर चौतारामा बसेर उनै आमाले पोलेको मकै खाएर फर्किँदा बाटो भरि धेरै कुरा खेलिरहे । धैरै पटक सम्झिएँ उनलाई राती अवेर सम्म पनि मलाई निन्द्रा लागेन । उनको आवजमा क्या शक्ति छ, बाँचीरहेको दैनिकिमा क्या शाहस छ, कालै भएर जाने कोइला प्रति उनको क्या विश्वास छ । यसरी आगोको राप सँग पौँठे जोरी खेल्दै जितेका दिन मात्र उनलाई थाहा छ जस्ले म जस्ता सयाँैलाई प्रत्यक दिन घाम र आगोको राप सँगै मकै पोलेर पर्खिरहन्छिन् ।  
सिन्धुली कमलामाई– ५  को मधुटारमा बस्ने यी जोडी निक्कै रमाइला छन् । उमेरले ६७ लाग्नुभएकी आमा र ७६ लाग्नुभएका बा निक्कै दुख, कष्ट झेलेर जीवन विताएका कुरा साटिरँहदा कहिले चाउरी गाला तन्काउँदै हाँस्थीइन् त कहिले आँखा भरि आँसु पार्दै भावुक बन्थिन् । १० वटा सन्तान जन्माउनुभएकी साही आमाका अहिले ४ छोरा र ४ छोरी छन् सबैको बिहे भैसक्यो । २० नातीनातीका हजुरआमा, ५ पलाँती पलाँतीनी पनि छन् । आफ्नै सन्तान् हुन् रगतको माया लागिहाल्छ नि । उनि फेरि थप्छिन हाम्रो जस्तो दिन छैन, अहिले त सजिलो छ बाँच्नलाई । सबै आ–आफ्नो गरि खाका छन् ।
२००९ सालमा रामेछापको खिम्तिमा जन्मिनुभएकी आमाको ११ वर्षको उमेरमा बिहे भएको रहेछ । २० सालमा ओखलढुङ्गाको गाम्नाङ्टारका खिन बहादुर साहिसँग बिहे गर्दा  रत्नमाया ११ वर्षकी थिइन् । विहे हुँदा बा भने २० वर्षका थिए रे । घरमा “खान लाउन नपुग्ने निक्कै दुख थियो ” सम्झिन्छिन् ति कहालीलाग्दो विगत, अनि एकछिन मौन हुन्छिन् । उनी भन्छिन् “नानी दुख यतिसम्म पाँए की वर्षाैँनी जन्मिएका थिए छोराछोरी, एउटा फरिया बेरेर बस्नुपथ्र्यो धोएपछि नसुकूञ्जेल घरभित्रै बस्ने सुकेपछि लगाउने । एउटा फरिया किन्न बा ले जस्ता बोक्नु परेको त्यो दिन कसैलाई नपरोस्....” उनी बोल्दा बोल्दै भावुक भइन् । उनको कुरा सुनिरहँदा एउटा इतिहास पढे जस्तै लाग्थ्यो । ४१ सालतिरको कुरा हो साही परिवारलाई ओखलढुङ्गामा खान लाउनै मुस्किल पर्यो । मन नहुँदानहँुदै त्यो ठाउँ छोडेर हिँड्नु पर्यो । त्यो ठाउँको अझै पनि उत्तिकै माया लागिरहन्छ उनलाई । साही परिवारको १० जना काठमाडौँ गएर बस्न वाध्य भएको थियो त्यसबेला । काठमाडौँमा गएर बस्न पनि उत्तिकै मुस्किलै थियो, त्यस परिवारलाई । जीन्दगी विस्तारै डोहार्याउँदै काठमाडौँको त्यो भिडभाड सम्म पुर्याएका यी दुई दम्पतिका दुखका दिन सम्झदाँ आँखाहरु भरिन्छन् । थोरै खुसीको लेप लगाउँदै उनी भन्छिन् “छोड्देउ नानी, त्यस्ता कुरा धन्न बाँचीयो त्यो अभावबाट, अहिले त ती दिनहरु विर्सिन चाहन्छु तर कहाँ सक्छु र, ति समस्या माथिका समस्याका चाँङ्.।” काठमाडौँको रत्नपार्कमा रोटी पकाएर बेच्ने आमा भक्कानिदै सुनाउँछिन् एक दिनको कुरा हो, त्यस्तै १ बजेको हुँदो हो नगरपालिका आएर तावा, तेल र पिठो लगाएतका सामान छोडेर सानो त्रिपाल उठाएर लग्यो । पहिला त उनलाई लागेको कतै सार्दिन लागेको होला तर वास्तविकता त्यो थिएन । त्यसपछि झन् गाहे भया,े जीन्दगी गाहे र अप्ठ्याराहरु कै बिच बिताइयो–आमाले वृतान्त सुनाउँदै गइन् ।
“कालिमाटि देखि विशाल बजार हुँदै रत्नपार्क निस्किन्थिन् अम्वा बेच्दै । उनी थप्छिन् मलाई भारी बोक्ने काम गाहे लाग्छ, त्यस्तो काम गरेको पनि छैन”  समय बित्दै गए एउटा युग नै बद्लियो, दुख पछिका खुसीका वाछिट्टाहरु विस्तारै आउन थाले साहि दम्पतिको जीवनमा । विस्तारै जीन्दगीको रथ घिसार्दै अघि बढिरहेका यी जोडीमा खासै मनमुटाव आएन । सानैमा विहे भएर सन्तान धेरै जन्मिए, दुखहरु कसरी झेल्ने भन्ने डर सदैव हुन्थ्यो रत्नमाया आमाले सबै सुनाइन् ।
रातदिन दुख गरेर २०५० सालमा सिन्धुलीको मधुटारमा थोरै जग्गा किन्नुभएकी आमा यसैगरि आफ्नो जीवनको वृतान्त सुनाइरहिन्, म सुनिरहेँ म सँगै रहेकी साथी दर्शक झैँ सुनिरहिन् । म पेशाले सञ्चारकर्मी, सँगै गएकी साथी रमिला पनि, हाम्रो पेशा एउटै । मलाई किन–किन यसरी बाटोमा भेटिएकाहरु सँग गफीन मज्जा लाग्छ । हामी तीन जना गफिरहेको सानो पालभित्र घरि रमाइलो माहोल हुन्थ्यो, हामी मज्जाले हाँस्थ्यौँ जव नरमाइलो दुखका दिनमा आमा पुग्थिन् केहिवेर वातावरण शान्त हुन्थ्यो मानौँ हामी कोही पनि त्यहाँ छैनौँ ।
बाटोमा हिड्ने अधिकांश मानिसले हामीलाई हेर्थे, लाग्दो हो यीनिहरु यहाँ किन बसेका होलान् ? यतिकैमा मोटरसाइकलमा आउने दूई जनाले मकै किन्ने विचार गरेछन् मोटरसाइकल आमाको सानो पाल अगाडि आएर रोकियो । मैले सोधेँ मके लाने हो दाई......? त्यो अपरिचित व्यक्तिले हाँस्दै भने– लाने । फेरि सोधेँ मैले –कति राख्दिउँ ? – ६ घोगा । अर्काे मानिस हाँस्दै थियो खै किन हो । मैले नै प्लास्टिकको झोलामा मकै राख्दिएँ । ती मान्छे ओझेल परे हाम्रो गफ फेरि निरन्तर अघि बढ्यो ।
एकै छिनमा ३/४ जना महिलाको हुल आयो र एकजना ले सोधे– मकै कसरी हो  ? जवाफ मैले नै दिएँ “काँचो लगे २०, पाकेको चाँही २५” उनीहरु कानेखुसी गर्न लागे महँगो भयो भन्दै, फेरि मैले नै थपेँ –लानु न मिठो छ  । उनीहरु महँगो भयो भन्दै आनाकानी गर्न लागे, आमाले भनिन् अन्तै जाउ २० मा त आउँदैन । ती मध्ये एक महिलाले भनिन् एक घोगा दिनुन त, तर महँगो भयो– पैसा दिँदै यस्तै भनिन् । उनीहरु पनि गए बाटोमा धेरै किसिमका मान्छेहरु हिँडिरहेका थिए सबैजना हेर्थे, त्यो सानो पालमुनि हामी दुई थपिएका थियौँ सायद उनीहरुको नजरमा हामी अचम्मका पात्र बनेका थियाँै । झन्डै ३० मिनेटको बसाइमा धेरै मान्छे आए अनि गए पनि । सबै आ–आफ्नै सुरमा, हामी चाँही त्यस दिन फुर्सदिलो बनाइरहेका थियौँ साहि आमासँग गफीदै ।
कुराकुरामा रमिलाले सोधिन् “आमा तपाई किन यसरी मकै पोलेर बस्नुहुन्छ ? ” उनको अनुहारमा अचम्मको भाव थियो । त्यो स्वभाविक पनि थियो । पहिले जति दुख भएपनि अहिले त दुख छैन नि, ४ छोरा सबै ड्राभर भएका छन्, छोरीहरु आ–आफ्नै घर गरि खाका छन् र पनि यो तातो घाममा आगोको रापमा किन जल्नुपरेको होला ? सबैको मनमा यस्तै जिज्ञासा उत्पन्न हुन्छ । यसो भन्दा आमाले खुसी हुँदै भनिन् “नानी के गर्नु पहिले कति दुख पाइयो, यसैगरि बाटोमा व्यापार गरेरै जीन्दगी बित्न लागिसक्यो, दिनभरि बस्दा बस्दा हैरान हुने, अझै त सक्दैछु, किन बसिरहनु भनेर आको । दिनभरिमा डेड २ सय घोगा मकै पोलेर बेच्दा ७/८ सय नाफा हुन्छ रे आमाको । २० रुपैयाँ घोगा किनेको मकै पोलेर २५ मा बेच्ने गर्छिन्, यसरी दिनभरि व्यस्त हुँदा आमालाई झर्को भने पटक्कै लाग्दैन । दिनभरि आगो र घामको रापमा रापिएकी ती आमाको शाहस कति ठुलो छ । भन्छिन्“ढाँटेर, चोरेर खान पो लाज हुन्छ त काम गरेर खान के को लाज ?” भन्छिन् छोराछोरीहरु यस्तो काम नगर भनेर गाली गर्छन् बसिरहन मन लाग्दैन, यस्तो काम नगरे पनि सुती–सुती खान पुग्छ, तर दिनभरि त्यसै बस्नुभन्दा यसो बरालिन मन लाग्छ । यसरी धेरैले सोध्छन् नानी मलाई “ तिम्रो छोराछोरी छैन भनेर ” तर हातगोडा चल्दैछ किन बसिरहनु ?
धुवाँले मैले आँखा बन्द गरँे, – यता बस नानी तिम्लाई धुवाँले चिनेन, तिम्रो उमेरमा हामी कस्ता थियाँै” आमाको चाउरी गालामा एकाएक लाली छायो, मज्जाले हाँसिन् । मैले राम्ररी कुरा बुझीन,सायद उनले त्यो जवानी सम्झिइन् ती बाँकी सबै दुख विर्सिएर । फेरि एकै छिनमा उनको आँखा भरिए त्यही बेला थियो जतिबेला पेटभरि खान र जीउ ढाक्ने गरि लगाउन मुस्किल पथ्र्याे । उमेरले ६५ नाघेकी साही आमा हेर्दा तन्दुरुस्त देखिए पनि भन्छिन् “खासै शरिरमा रोग त छैन तैपनि १० वटा सन्तान जन्माएँ बसिरहँदा पनि कैलेकसो गाहे हुन्छ ” । हामी निकै बेर बस्यौँ तर साही बा खै कता जानुभएको थियो आउनु भएन ।  उहाँसँग सुख दुख साट्ने हाम्रो धोको अधुरै रह्यो ।
मोबाइलको अर्लाम सँगै उठ्ने र घडिको मिनेट हेर्दै बित्ने हाम्रो दैनिकि आमालाई बल्ल थाहा हुँदै थियो ।  हामी रेडियोमा बोल्ने मान्छे हाँै भन्ने थाहा पाएपछि झन् उनमा खुसी थपिएको थियो, झन् मज्जाले हाँसिन् । सँगै हामी पनि हाँस्यौँ । केहि दिन अघि उनीसँग बसेर खिचेको फोटो रमिलाले फेसबुकमा पोष्ट गर्दै लेखेकी थिइन् – घामको ताप र आगोको रापसँगै गुज्रिएको जीन्दगी ।
खै कस्ले हो फेसबुकमा फोटो देखेको कुरा सुनाइदिएछ, त्यो कुरा सुनाउँदै झन् खुसीले आमाको गाला तन्किए । हामीलाई हतार थियो ३ बजे रेडियो स्टुडियोमा आइपुग्नु पर्ने । अझ धेरै सुख दुख साट्ने मन हुँदा हुँदै पनि छुट्टिनु नै थियो । हामी यति धेरै आत्मिए भैसकेका थियाँै की आमाको लागि हामी आफ्नै सन्तान जस्ता, हाम्रो लागि आमा हाम्रै परिवारको सदस्य जस्तै । लौ त आमा फेरि कुनै भेटौँला, अव जान्छौँ । एक घोगा मकै मेरो हातमा थियो, २५ रुपैँया पर्ने कुरा पनि थाहा थियो । पैसा दिँदा लिन मान्नु भएन, एक घोगा मकै हो खाएर जाउ,” उनको कुरा नसकिँदै मैले भनेँ– “ पैसा लिनु हुन्न भने हामी मकै नखानी राख्नुस् ” अनि बल्ल आमाले पैसा राख्नु भयो । हिँड्नै लाग्दा आमाले भन्नुभयो– “नानीहरु होे विहे भाको जस्तो देखिँदैनौँ आफु सक्षम भएर मात्र विहे गर्नु है । ” यो वाक्यले झन् मन छोयो हवस् आमा, भन्दै हामी त्यहाँबाट फर्कियौँ । मनमा एक किसिमको उन्माद थपीयो, लाग्यो गरे के हुन्न र ? जीन्दगी सोच्ने मेरो विचारमा एकाएक परिवर्तन आयो । आखिर समस्यासँग डराउनु हुँदैन, भाग्न हुँदैन । बाँचुञ्जेल संघर्ष गर्नै पर्छ । हातपाउ चलुञ्जेल किन कोही कसैको भर पर्नु । जीन्दगीको साहारा त्यसबेला कोही बनिदिउन, जुन बेला फेरिरहेको सास अप्ठ्यारो हुन्छ, अव संसार सकियो जस्तो लाग्छ, एक गिलास पानी तताएर खाने सामथ्र्य हुँदैन । हो यस्तै लाग्यो । आत्मनिर्भर भएर बाँच्न सिकाउने यी महान् साही दम्पति प्रति सँधै–सँधै नमन, सँधै आशिर्वाद पाइराखुँ ।