• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

हिमाल आरोहणमा मृत्यु हुने संख्या १९ पुग्यो

Published : 2 years ago


यो सिजनमा विभिन्न हिमाल आरोहणका लागि गएका १९ आरोहीको मृत्यु भएको छ। सगरमाथा, मकालु र कञ्चनजंघा हिमाल आरोहणका क्रममा उक्त संख्यामा मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको छ।

अन्नपूर्ण हिमाल आरोहणका क्रममा मलेसियाका आरोही वुई किन चिन घाइते भएका थिए। उनको अन्नपूर्णबाट उद्धार गरी आफ्नै देशमा पठाइएको थियो। नेपालबाट आफ्नै देशमा गएपछि उनको मृत्यु भएको विभागले जनाएको छ।

त्यस्तै चीनतर्फबाट सगरमाथा आरोहणका लागि डोरी टाग्ने क्रममा फुजुङ भोटे शेर्पाको क्याम्प २ मा मृत्यु भएको थियो।

एक आरोही आफ्नै देशमा गएपछि मृत्यु भएको र अर्काे आरोही चीनबाट आरोहण गर्दा मृत्यु भएको हुँदा नेपालतर्फबाट आरोहणका क्रममा मृत्यु भएको भन्न नसकिने विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्।

उनले नेपालखबरसँग भनिन्, ‘नेपालमा आधिकारिक रुपमा १७ आरोहीको मात्र मृत्यु भएको हो।’ उनका अनुसार यो सिजनमा सगरमाथा आरोहण गर्नेको संख्या ६ सयभन्दा बढी छ।

केही आरोहीहरुले आरोहण गर्दै गरेका कारण यति नै आरोहीले आरोहण गरे भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ। आरोहण अनुमति लिएर आरोहणको मिति÷समय भएका आरोहीहरुले मौसमअनुसार आरोहण गर्न सक्छन्। अबको एक÷दुई दिनमा यो सिजनको सगरमाथा आरोहण सकिन्छ। आरोहण सकिएपछि मात्रै आरोहीको एकीन तथ्यांक आउने उनले जनाइन्। विभागले हिमाल आरोहणको अनुमति दिँदा ७५ दिनको समय दिन्छ।

यस वर्ष हिमाल आरोहणका लागि सबैभन्दा बढी आरोहणका जिम्मा लिएको सेभेन समिटबाट धेरै आरोहीको मृत्यु भएको विभागले जनाएको छ। विभागले दिएको जानकारीअनुसार सेभेन समिट ट्रेक्सबाट मात्रै सात आरोहीको मृत्यु भएको छ। जसमा सगरमाथा आरोहणका क्रममा २, मकालुमा ४, अन्नपूर्ण र जोयु (चीनबाट आरोहण गरेका र मलेसियन नागरिकसहित) आरोहणका क्रममा १/१ जनाको मृत्यु भएको छ।

सगरमाथामा १० आरोहीको मृत्यु
चीनतर्फबाट आरोहण गर्दा मृत्यु भएका आरोही गरेर यो सिजनमा सगरमाथा आरोहणमा मात्रै १० आरोहीको मृत्यु भएको छ। जसमा सगरमाथा आरोहणको व्यवस्था लिएको सेभेन समिटबाट गएका एक आरोही हराइरहेका छन् भने अर्का एक आरोहीको मृत्यु भएको छ।

आरोहणका क्रममा भारतीय सैनिक रवि ठाकुरको आठ हजार मिटर उचाइमा मृत्यु भएको थियो। त्यस्तै आरोहण सकेर फर्किने क्रममा आइरिस प्राध्यापक सेमस सान चौँथो शिविरबाट हराइरहेका छन्। उनले चौँथो शिविरबाट हाम फालेको शेर्पा गाइडहरु बताउँछन्। 
पाइनो एडभेन्चर कम्पनीको व्यवस्थापनमा गएका अमेरिकाका आरोही डोनाल्ड लेनक्यासको मृत्यु भएको छ।

ट्रान्सेट एडभेन्चरको व्यवस्थापनमा सगरमाथा गएका भारतका अन्जली शरद, ड्रिमेर डेस्टिनेसनबाट गएका भारतकै कल्पना दास, हिमालय स्काइ ट्रेक्सबाट गएका नेपाली आरोही ध्रुव विष्ट र एभरेष्ट परिवारको व्यवस्थापनमा गएका अमेरिकाका रोविन हेन्स फिसरको मृत्यु भएको प्रमाणित भएको पर्यटन विभागले जनाएको छ।

त्यस्तै अमेरिकी नागरिक क्रिस्टोफर जाेन कुलिशको पनि सगरमाथा आरोहण गरी फर्किने क्रममा सोमबार साउथकोल क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ। आरोहणका क्रममा हिमालमा हराउनु मृत्यु भएसरह हो। हराएका आरोहीहरुको शव भेटाउन समेत नसकिने अवस्था हुने पर्यटक गाइडहरु बताउँछन्।

मकालुमा ४ जनाको मृत्यु
त्यस्तै मकालु हिमाल आरोहणका क्रममा २ भारतीय आरोहीको मृत्यु भएको छ भने पेरु र नेपालका १/१ आरोहीले पनि ज्यान गुमाएका छन्। मकालुमा मृत्यु हुनेमा सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा गएका भारतीय सैनिक नारायण सिंह छन् भने भारतकै कलकत्ताका दिपंकर घोष हराइरहेका छन्।

आरोहणकै क्रममा पेरुका रिचर्ड हिडाल्गो चौँथो शिविरमा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। नेपाली आरोही निमा तेन्जीको समेत मकालु आरोहणकै क्रममा मृत्यु भएको छ।

कञ्चनजंघामा ३ जनाको मृत्यु
विश्वकै तेस्रो अग्लो हिमालको रुपमा रहेको कञ्चनजंघा हिमाल आरोहणका क्रममा तीन आरोहीको मृत्यु भएको छ। तीनै आरोहीको आरोहण व्यवस्थापनको जिम्मा पिक प्रमोसन ट्रेक्सले लिएको थियो। आरोहणका क्रममा मृत्यु हुनेमा भारतीय नागरिक विप्लव वैद्य र कुंतल करारको मृत्यु भएको हो भने दक्षिण अमेरिकी मुलुक चिलीका नागरिक रोड्रिगो भिभ्यान्को हराइरहेका छन्।

त्यस्तै मकालु एक्स्ट्रिम कम्पनीको व्यवस्थापनमा ल्होत्से हिमाल आरोहणका लागि गएका बुल्गेरियाका इभान युरिभ टमभको आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको विभागले जनाएको छ। विभागका निर्देशक आचार्यका अनुसार मृत्यु भएका १७ आरोहीको शव काठमाडौं ल्याउने क्रममा एजेन्सी कम्पनीहरु रहेका छन्। हालसम्म कति जनाको शव काठमाडौं आइसक्यो भन्ने एकीन तथ्यांक सम्पर्क अधिकृत र एजेन्सीमार्फत विभागमा जानकारी आइसकेको छैन।