• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

लघुकथा -लाली पोप- गम बयम्बु मगर

Published : 4 months ago


लाली पोप

 

श्यामलाल दुई साल कतारको गर्मी खाएर छुट्टीमा घर फर्केको छ। आफु परदेश लागेपछि छोरी जुनमायाँलाई बोर्डिङ्गमा पढाउछु भनेर उसकी पत्नि तीन वर्षे छोरा लेखन्तलाई काखी च्यापेर शहर पसेकी थिईन।

 

शहर पसेपछि उसको पत्निको व्यवहारमा धेरै परिवर्तन आएको कुरा गाउँलेबाट उसले सुनेको थियो। परपुरुष संग हिमचिम छ रे भनेर सुनेका श्यामलालले आँखाले नदेखेको कुरा कसरी विश्वास गरुँ ? अरुको घरजम भत्काउनलाई पनि बोल्न सक्छन भनेर मन बुझाएका थिए।

 

लामो समयपछि परिवारसंगको मिलनमा जति उमङ्ग र खुशी देखिन पर्ने उसमा देखेको थिएन। उसले पत्निको व्यवहारमा निगरानीको दृष्टिले हेर्दै गए।

 

एक दिन जुनमायाँ गृहकार्यमा व्यस्ता थिई। लेखन्त दिदी को वरिपरि आफ्नै धुनमा खेल्दै थिए। उसकी आमाले चिया लिएर आईन। चियासित खानलाई  बिस्कुट पनि खोलिन। लेखन्तले बिस्कुट खान मानेन। दुबै जनाले उसलाई फकाए तर उसले उल्टो 'लाली पोप' मिठाई खान्छु भनेर जिध्दि गर्न थाले।

 

"बाबू ! लाली पोप त मीठो हुन्न नि ! बिस्कुट मीठो हुन्छ त्यो भन्दा " मायालु पाराले फकाउदै बाबाले अनुरोध गरे।

 

"हजुर आउनु भएपछि लाली पोप खानै पाको छैन बाबा !" छोरोले गुनासो पोखे।

 

"किन र मेरो छोरा ? म आएपछि किन?" बुझ्न चाहेर छोरोलाई सोधे।

 

छोरोले भने "हजुर नहुदा एक जना अंकलले सधैँ लाली पोप लिएर आउनु हुन्थ्यो दिदीलाई र मलाई। कति माया गर्नुहुन्थ्यो। राती भुतले तर्साउछ भनेर हामीसंगै सुत्न आउनुहुन्थ्यो। तर बाबा यो कुरा कसैलाई नभन्नु रे है मम्मीले भन्नु भको !"

 

 

गम बयम्बु मगर

निस्दी-६ अर्चले,पाल्पा