• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुख्यमन्त्री पोखरेलसँग जापानी राजदूतको भेट

Published : 3 months ago


बुटवल, १२ असार (रासस) :- प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज भेटवार्ता गर्नुभयो ।    
 मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासमा सघाउन जापान सधैँ तयार रहेको बताउनुभयो ।    
    
 मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज जारी गर्नु भएको प्रेस नोटमा उल्लेख छ । मुख्यमन्त्री पोखरेलले सम्पदा र पर्यापर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो सम्भावना भएको जानकारी गराउनुभयो ।    
 राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने र संवैधानिक व्यवस्थाअनुसार गठन भएका प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्नेबारे छलफल गर्दै अघि बढ्ने बताउनुभयो । मुख्यमन्त्रीले यहाँ आएका बेला लुम्बिनी भ्रमण गर्न राजदूत साइगोलाई आग्रह गर्नुभयो ।    
–––