• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

हरितालिका तीज : गोपालप्रसाद भण्डारी

Published : 2 years ago


(अनुष्टुप्छन्द)
___________

प्राचीन व्रत मानिन्छ हिन्दुको हरितालिका।
यो व्रत शुरु गर्ने हुन् पार्वती विश्वमालिका।।१।।

 

शिवजी पति हुन् भन्ने अनन्य धारणा लिई।
पार्वतीले लिईन् वर्त पैले एकान्तमा गई।।२।।

 

तृतीया तिथि हो तीज भाद्रको शुक्लपक्षको।
श्रद्धालु महिला ठान्छन् व्रत पवित्र लक्षको।।३।।

 

पार्वती शिवको हुन्छ यसमा मुख्य पूजन।
महादेव र गौरीको हुन्छ विशेष चिन्तन।।4।।

 

सधवा विधवा कन्या आस्थाले व्रत बस्तछन्।
नेपालमा छ यो ख्यात भारती पनि मान्दछन् ।।५।।

 

श्रद्धाले पुग्दछन् कोही व्रतालु शिवमन्दिर।
कामना राख्तछन् राम्रा याचना गर्दछन् वर ।।६।।

 

विदेशमा गई बस्ने केही हिन्दुहरू व्रत।
अति आदरका साथ लिन्छन् भित्री खुसीसित।।७।।

 

उपजातिछन्द
____________

नेपालमा मान्य छ तीज चाड
तँ छाड कि ध्यान हुने म छाड।
यो चाडमा जम्छ निकै पहाड
स्त्रीजातिको नै यसमा छ आड।।८।।

 

गरिन्छ पैले दर खान जोड
श्रृड्.गारमा स्त्रीजनको छ होड।
लिंदै छ यो पर्व नवीन मोड
परन्तु छन् आस्तिक भाव ओड।।९।।

 

तिर्खा तथा भोक खपी प्रचण्ड
मानेर आध्यात्मिक मानदण्ड।
त्यागेर दुर्भाव तथा घमण्ड
स्त्री वर्त बस्छन् शिवको अखण्ड।।१०।।

 

परम्परा धार्मिक धान्नलाई
पुर्खाहरूका स्थिति थाम्नलाई।
उमड्.ग उत्साह निकै जगाई
स्त्री वर्त बस्छन् सुख भोग्नलाई।।११।।

 

सन्देह औ द्रोह निखार्नलाई
सद्भक्तिले ज्ञान तिखार्नलाई।
सत्शक्ति औ प्रेम सकार्नलाई
सूक्तिप्रभाभाव सपार्नलाई।।१२।।

 

स्वामी सधैँ जीवित हेर्नलाई
सत्कर्मले आलय घेर्नलाई।
सन्मार्ग खोजी अघि सर्नलाई
सन्तानमा शक्ति उघार्नलाई।।१३।।

 

स्वामी सखामा सुख सार्नलाई
सन्सारका दुर्दिन टार्नलाई।
सम्मानले शम्भु पुकार्नलाई
स्रीश्री कसिन्छन् व्रत बस्नलाई।।१४।।

 

सँस्कारमा तागत भर्नलाई
सड्.कष्टका सागर तर्नलाई।
समस्त बाधा भय हर्नलाई
स्त्री वर्त बस्छन् छवि छर्नलाई।।१५।।

 

पानी धरी धैर्य धरी नखाई
दीर्घायु आफ्ना पतिको चिताई।
निद्रा र आलस्य तथा थकाई
अशान्तिलाई मनले भगाई।।१६।।

 

सिद्धान्तमा थेगिन बाँच्नलाई
स्वधर्म औ सँस्कृति साँच्नलाई।
सद्भावले मिल्न र हाँस्नलाई
सत्सड्.ग गर्छन् शिव पूज्नलाई।।१७।।

आनन्दमा मग्न भई रमाई
भेला भई वाद्यहरू बजाई।
नाची नचाई अनि गीत गाई
स्री वर्त लिन्छन् शिव भज्नलाई।।१८।।


भोला महादेव खुसी बनाई
सम्पर्क सँस्थापित गर्नलाई।
प्रज्ञा सपारी तन साध्नलाई
स्री वर्त लिन्छन् शिव मान्नलाई।।१९।।

इति वि.सं.२०७३_९_१५_७ / इ.स.डिसेम्बर ३०,२०१६

 

गोपालप्रसाद भण्डारी
बत्तीसपुतली, काठमाडौं, नेपाल
हाल: गार्ल्याण्ड् डालस् टेक्सस् संयुक्तराज्य अमेरिका