• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

समयको संत्रास- सङ्गिता आचार्य

Published : 2 months ago


समयको संत्रास

काठमाडौंको एक अति व्यस्त नगर चावहिल । बिहान करिब १०:३० बज्दै थियो । रोजिरोटीको चपेटामा हेलिएको भीड तिब्र गतिमा दौडिने क्रम जारि नै थियो । त्यहाँ विरलैले मात्र एकले अर्कालाई चिन्दा हुन् । आवश्यकता र बाध्यताहरू लगभग सबैको उस्तै भए नि यो शहरमा आफूलाई अरूभन्दा फरक देखाउनै पर्ने एउटा होड चाहिँ बडो अचम्मको लाग्छ मलाई । आखिर म पनि त्यहि विशाल भिडको एउटा सानो कण थिएँ । मेरो नि आफ्नै एक्लो धुन र अरू भन्दा फरक देखिने चाहनाले नै त्यो समय म त्याहॉ थिएँ ।

 

नेपाल टेलिकमको अफिस पुग्नु थियो एकछिन् । सहिमा भन्नुपर्दा केहि समय यता मलाई आफ्नो पर्सनल नम्बर परिवर्तन गर्नु पर्ने बाध्यात्मक परिस्थितिले घेरिरहेको थियो । सो दिन जसरी पनि एउटा नयाँ नम्बर लिन्छु नै भन्ने सोचेर निस्किएकी थिएँ त्यसैले उक्त दिन बरु अफिस पुग्न अलि ढिलो भएछ भने पनि हाकिम साबको दुई चार लेक्चर सुनुला भन्ने मन बनाएँ ।

 

प्रायः सधैँजसो घरधन्दाबाट छुट्टी लिँन नपाउँदै अफिस पुग्ने हतारोले पिरोल्ने मेरो बिहानी समयलाई त्यो दिन मैले अलि फुर्सदिलो बनाएकी थिएँ आफ्नै स्वेच्छाले ।

 

गौरीघाट हुँदै आराध्यदेव भगवान् पशुपति नाथको मन्दिर नजिकबाट मित्रपार्क निस्किने सानो छोटो बाटो । प्रायः मलाई पैदल हिँड्न मन पर्ने बाटो । मोटरसाइकिल र केहि साना गाडीहरू पनि प्रायः ट्राफिक छल्न त्यहि बाटो उत्तम मान्दा हुन् त्यसैले अफिस सुरु हुने र छुट्ने समयमा त्यो बाटो पनि आजकल धेरै व्यस्त हुन थालिसकेछ । मलाई त्यो बाटो हिँड्न मन पर्नुको अर्को कारण आत्मसन्तुष्टी पनि हो । पशुपतिनाथ आसपास मात्र पुग्दा पनि एउटा छुट्टै आनन्द मिल्छ मलाई । समय मिलेसम्म मूलढोकामै पुगेर र हतारै हुदा पनि कम्तिमा गजुरलाई हेर्दै मात्र भएपनि दुई हात जोडि शिर झुकाएर शिवजीको जयकार गर्दै उकालो लाग्ने बानि नै परेको छ ।

 

सो दिन पनि सदा जस्तै प्रकृया दोहोरिए । टेलिकम अफिस पुग्ने हतारो त छँदै थियो । फटाफट लम्किएका पाइला मित्रपार्क पुगेर सडक पार गर्न मात्र के खोज्दै थिए कसैले पछाडिबाट मसिनो स्वरमा आवाज दियो :

'एक्सक्यूज मी बहिनी !'

मैले फर्केर हेरेँ । मंगोलियन फेसमा एकजना अधवैसे दिदी अनुनयको भावमा मलाई हेरिरहेकी थिइन् ।

हजुर !

मैले पनि सहयोगी भावमा प्रश्न जडित संवाद फर्काएँ ।

ति दिदीले एक हजारको नाट देखाउँदै सोधिन् :

बहिनी ! तपाईंसित पाँच सयको दुईटा नोट छ होला ?

 

म अलमल्लमा परेँ । किन बाटोमा उभिएर त्यो हजारको चेन्ज मागेको होला ? कतै यिनी डुप्लिकेट नोट त बिकाउन खोज्दै छैनन् ? न मसँग पैसा छ कि छैन बुझ्न मात्र खोजेकी हुन् र केहि समयमै ममाथि लुटपाटको हमला पो गरिहाल्ने हुन् ? सेकेण्ड भरमै यस्ता कयौं प्रश्नले मेरो दिमाग रन्किदै थियो भने आँखा एकतमासले उनीमाथि दौडिँदै आश्चर्य मिस्रित प्रश्न गर्दै थिए ।

 

म एकाएक अकमकिएको देखेर ति दिदीले पुन: उनका भनाइ अझै प्रष्ट्याउन थालिन् ।

 

खासमा उनले ट्याक्सीलाई ३०० रुपैया भाडा दिनुपर्ने रहेछ । तर उनी र ति ट्याक्सी ड्राइवर दुवैजनासँग चेन्ज रहेनछ । एक दुई अन्य पैदलयात्री र नजिकै रहेका वर्कशपवालाहरूसँग आग्रह गर्दा समेत उनले चेन्ज पैसा पाउन सकिनछन् । त्यस्तै अलअल्ल अवस्थामा म त्याहॉ पुगेकी रहिछु । उनका सबै कुरा अलि विस्तारमा सुन्दा मेरो मन सहयोगीभावले पग्लियो ।

 

त्यसो त केहि समयअघि मात्र रत्नपार्कको बसस्टपमा नराम्ररी लुटिएकी मान्छे म । मोबाइल पैसा आदि मात्र नभई आफू नेपाली नागरिक हुनुको प्रमाणपत्र समेत लुटिएको उक्त डर लाग्दो दिनपछि मैले साथमा धेरै रुपैया र अन्य कागजाद बोक्न छोडेकी थिएँ । तर त्यो दिन चाहिँ नेपाल टेलिकमको पोस्टपेड सिम लिने सोचमा २/३ हजार जति रुपैया साथमा बोकेकी थिएँ । एक मनले ति दिदीको कुरा नसुनि अघि बढ् भन्दै थियो भने अर्को मनले उनी गलत नियतकी छैनन् । दे न आफूसित भाको कुरा भनेझैँ लाग्दै थियो ।

 

अन्ततः मैले पाँच सयको दुईटा नोट निकालेर दिएँ र उनको हजारको नोट लिएँ । ति दिदीले बडो हार्दिकतापूर्वक मलाई धन्यवाद दिइन् । म पनि एक ओठ मुस्कानले उनको हार्दिकता स्वीकार्दै टेलिकम अफिसतिर लागेँ ।

 

कुरा यतिमै कहाँ सकियो र ! उनलाई सहयोग त गरेँ तर उनीसित छुटेको दोस्रो सेकेंडमै उनले दिएको हजारको नोटले मलाई छटपट गराउन थाल्यो । हतारिँदै रोडक्रस गरेर पारि पनि नपुग्दै त्यो नोट पुन : वल्टाई पल्टाई नियालेँ । सबै ठीकै लाग्यो । मन चाहिँ कता कता चिसिइरह्यो ।

 

टेलिकम अफिस गएँ । पोस्टपेड सिमको लागि फर्म भरेँ र एकदम सम्झिएर त्यहि हजारको नोट त्यहाँ बुझाएँ । ‘क्यास पे‘ गर्ने बेलामा मुटु जोड जोडले धड्किँदै थियो । कतै यो कस्तो नोट दिएको भनेर असामान्य प्रश्न पो सोधिने हुन् कि ? तर त्यस्तो केहि भएन । म आवश्यक रकम बुझाएर सिम एक्टिभ गराइ त्यहाँबाट निस्किएँ ।

 

मित्रपार्कदेखि बागबजार स्थित आफ्नो अफिस पुग्ने बेलासम्म पनि बाटैभरि मेरो मनलाई यहि कुराले गाँजिरह्यो कि आखिर कति त्रसिद बन्दैछ अबको समय । कसैलाई सामान्य सहयोग गर्न पनि कति धेरै सोच्नुपर्ने भएछ । कता पुग्यो त्यो हाम्रो संस्कृति जसले विश्वसामु हामीलाई नेपाली भनेर चिनाएको थियो ? एकता र विश्वासको डोरी कसरी दिन परदिन यति खुकुलो हुँदै गैरहेछ ? के यो समस्या कुनै एक व्यक्तिको सामान्य सोच मात्रै हो ? कि साँच्चै हराउँदै छ मानवता यो कंक्रीटको शहरबाट ।

 

सङ्गिता आचार्य

चाबहिल, काठमाडौं