• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता- यादहरुले झस्काउदा- मिना श्रेष्ठ 'सबि'

Published : 1 week ago


'यादहरुले झस्काउदा'

आज देखि दशै पसेको छ घर घरमा

कोही हर्ष र खुशीमा होलान्

कोही पीडामा दशै रुदै होलान्

मलाई पनि यस्ता,

दशैंले  झस्काईरहन्छन्

बिगतका तीता पलहरुले जिस्काइ रहन्छ्न

किन किन हृदयका कुनामा काँडा बनेर

त्यि दिनहरुले घोचिरहन्छन

आज पनि,

त्यो  दिनको याद आइरहन्छ

बाबाले मतानको ढिकिमा धान कुटेर ऐसेलुखर्क बजारमा पुर्याएको

सय रुपैया पाथी बेचेको

खुशी हुदै दशै खर्च ल्याएको दिन।

मलाई नयाँ जामाको कपडा किनि ल्याको दिन

घरमा दर्जी बोलाएर नयाँ लुगा सिलाएको दिन

घरभन्दा टाढा रहेको

गोठबाट दशैको लागि भन्दै

गाईभैंसी बाख्रा घर

लगेको दिन।

कति खुशी थिए  हाम्रा लागि त्यि दिनहरू

कति पीडाले दशै मनाउथे आमाबुवाहरु

हो,

यी कहानी जस्ता दिनहरु

याद दिलाइदियो यो दशैंले फेरि

अष्टमिमा घाँसको भारी बिसाई

घर नजिकै डवलिमा

रोटेपिङ र लिङ्गे पिङमा पालो पर्खिएको

ठुलाबडाका छोराछोरीले अघाए पछि मात्र

हाम्रो पालो आएको

कहिलेकाही

पर्खिदापर्खिदा दिन बित्थ्यो

हामी गरिवका छोराछोरीको

पालो आउदैन थियो।

हामीले नबुझे पनि

दशैले धेरै भेदभाव लियाएको

हो, आज घर घरमा आएको दशैले

त्यी घटनाहरुलाई ताजा बनाइरहेछ

याद दिलाईरहेछ।

मलाई अहिले जस्तो लाग्छ

सपना जस्तो लाग्छ त्यो यथार्थ

 त्यी दशैका सम्झनाहरु

दिनै माया मारेर बा राँगा खोज्न जानुभएको दिन

फूलपातिको दिन घर नजिकै राँगा पुजा गरेका दिन

गाउँमा सबै मिलेर काट्थे राँगा

धनी गनिने मान्छेले काम मात्र लगाउथे मेरा बालाई

मासु उनिहरु राख्थे

ज्याला भनौ कि उपहार

बालाई पुच्छर दि पठाउथे तिनीहरु ।

मेरा बा ले एकदुई किलो मासु माग्दा

घरमा छोराछोरी आशा गर्छन् हजुर भन्दा                    

मासुको पैसा तिर्न सक्दैनस भनी

वचनले मेरा बाको छातिमा हान्थे तिनीहरु ।

झल्झली सम्झन्छु

आज समृद्ध बनेको मेरो  दशैमा त्यी दिनहरु

रित्तो झोला बोकी निरास अनुहार बोकेर घरमा बा आएको पीडाका दिनहरू

त्यो साल हामीले मासु नखाई

दसै बिदागरेका  क्षणहरु

पल्लोघरे काकाले घोर्ले खसी ढालेको

हामी बारिको डिलमा टुलुटुलु हेरेको

घरमा आएर आमाले पकाएको

कोदोको ढिडो र भटमास मिसेको गुन्द्रुक खाएको

बा आमाले टीका लगाएर

एक रुपैयाको नँया नोट

दिदै धेरैबेर आशिर्बाद

दिएको दिन।

म,

नँया जामा लगाएर रमाउदै ठूलो

बुबाकोमा गएको दिन

दक्षिणाको कुनै प्रभाव थिएन

पिङ्ग खेल्ने र निधारभरी टिका

लगाउदाको खुसी बेग्लै थियो।

आज फेरि यो दसैले त्यही

दिनहरु याद दिलाईदियो

नसम्झु भन्दा नि ,

सबै घटना याद आइदियो।

 

मिना श्रेष्ठ 'सबि'

 खोटाङ