• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

दलित को हुन र दलित किन पिछडिएका छन ?- क्षितिज कुमार रिजाल

Published : 6 months ago


दलित को हुन र दलित किन पिछडिएका छन ?

 

त्यही दलितले बनाएको तरवारले हिजो एकीकरण भएको थियो । त्यही दलित जातिले सिलाएको कपडाले आज नेताहरु सानदार ढङ्गले हिड्ने गर्छन तर कस्तो चलन होला यो मान्छेलाइ नै पशुतुल्य बनाएर भेदभाव गर्ने ? आखिर सबैको शरिर त्यही रगत मासुले नै बनेको हुन्छ । दलितको दिसा खाने कुकुरलाइ घरमा हुलिन्छ तर दलितलाइ एउटा पानीसम्म छुन दिइदैन । केहि समय अगाडी एकजना महिला मित्रले लेख्नुभएको थियो दलितको छोरी मोज गर्नको लागी शरिर चल्ने तर छोएको पानी नचल्ने यो कस्तो रित हो । अबस्य पनि मलाइ नि आज यस्तै यस्तै बिषयमा कौतुहलता भयो बाहिर समाजले त दलितलाइ अछुत मानिए तापनी आज कतिपय  दलितले खासै आफ्नो अधिकार के हो त्यो सम्म बुझेका छैनन । हुन त आजसम्म पनि दलितले जाड र रक्सी सेवन गर्दै अनेक नानाभाती तुक्का गास्न छोडेका छैनन अनि एक दलितले अर्को दलितलाइ हेप्न र सानो ठान्न छोडेका छैनन ।

आदरणिय दलित मित्रहरुमा मेरो सानो सुझाव दलित भएर जन्मनु कुनै पाप होइन यो गौरवता हो । तर जाड र रक्सिमा ज्यानलाइ मोलेर नानाभाती तुक्का र उखान साथै राम्रो शब्दलाइ नराम्रो बानाइ आफ्नै दलित समुदायलाइ शिक्षा दिनु भनेको एउटा आफैले आफैलाइ दुर्गर्धित पार्नु हो । कतिपय समाजमा मैले प्रत्यक्ष देखेको छु त्यहा कुनै अधिकारको कुरा आउदैन त्यहा दलित एकजुटको कुरा आउदै ट्न्न जाड रक्सी खाएपछी त्यहा अनेक फोहोरी शब्दको मुल फुटाउन थाल्छन । त्यही शब्दमा रमाइ रहेका हुन्छन दलित तर मैले सबै दलितलाइ भन्न खोजेको होइन जुन यस्तै बानिमा फसेकोलाइ मात्र हो । अनि काहाबाट उपयोग हुन्छ दलितको अधिकार किन नहेपोस त दलितलाइ भोली दलित एउटा ब्राह्मण भन्दा ठुलो बनेर देखाउनुस त्यहा तपाइलाइ अरुलाइ जस्तै सम्मान हुन्छ ।त्यसैले दलित एकजुट हुन आवश्यक छ ।

प्राचिन कालमा मध्य एशिया बाट घुमन्ते र पशुपालक आर्यहरु खैवरघाँटीको बाटो हुँदै भारत बर्षमा प्रवेश गर्दा अहिलेका दलितका पुर्खाहरु भारतको पश्चिमतर्फ सिन्धु नदीदेखि पूर्वतर्फ गंगा र ब्रहमपुत्र नदीसम्मको समथर र उब्जाउ क्षेत्रमा राज्य जमाई बसेका थिए । उनीहरु शान्त स्वभावका, सुसंस्कृत र साहित्य, संगीत, कला, कौशलका धनी थिए । ठाउँ ठाउँमा मोहिन्जोदडो,  हरप्पा आदि नामका ठूला ठूला बस्ती तथा शहर निर्माण गरी बसेका थिए । त्यस क्षेत्रको उब्जाउ जमीन र धनधान्यले आकर्षित भै आएका आक्रमणकारी आर्यहरुको ती पुर्खाहरुले बित्ता बित्तामा कडा प्रतिरोध गरे । आफुलाई सुर अथवा देव भन्ने आर्यहरुले ती पुर्खाहरुलाई असुर, अनार्य, दानव, दैत्य एवं राक्षस आदि संज्ञा दिए । नवागन्तुक आर्यहरुले भारतमा कब्जा जमाउन र आदिवासी असुरहरुले आफ्नो पैतृक भूमि र अस्तित्व जोगाउनकालागि भएको यो युद्ध सयौं बर्षसम्म जारी रह्यो ।  जसलाई पौराणिक आर्य ग्रन्थहरुमा “देवासुर संग्राम” भनिएको छ । त्यो लामो युद्धको पुष्टि आर्यहरुको सर्व प्राचिन ग्रन्थ ऋग्वेदमा शत्रुहरुमाथि बिजय प्राप्त गर्नका लागि सुयर्, अग्नी, बायु, इन्द्र आदि देवताहरुलाई आह्वान गरेका ऋचाहरुबा ट पनि हुन्छ ।

 

अन्ततः त्यो दीर्घ लंडाईमा आर्यहरु पूर्णतः बिजयी भए भने  दलितका पुर्खा अर्थात् असुरहरुले  पुर्ख्यौली भूमिमा आफ्नो राजपाट, अधिकार  र हालहुकुम संधैका लागि गुमाउन बाध्य भए ।  लामो समयसम्म चलेको त्यो संग्राममा शुरा, बलिया र चलाख असुर यौद्धाहरुलाई खोजी खोजी सखाप पारियो भने धातुका भाँडाकुँडा, हतियार, गरगहना, मुर्ति  आदि  बनाउने,  छालाका जुत्ता, झोला सिलाउने, कपडा बुन्ने तथा सिलाउने, घर बनाउने, काठ बाँस आदिबाट सरसामान बनाउने, नाँचगान गर्ने आदि दैनिक जीवनोपयोगी बिभिन्न कला, सीप र संगीत जानेका असुरहरुलाई चाँही भविष्यमा आफ्नो समाजको लागि धेरै काम लाग्ने र सधै आवश्यक पर्ने बिचार गरेर आर्यहरुले जीवनदान दिई दास (शुद्र) बनाएर राखे । बिजेताले आफ्नो बिजयलाई चिरस्थायी बनाउन सर्वप्रथम सत्रु पक्षको संस्कृति र साहित्यलाई समूल्नष्ट गर्नुपर्छ भन्ने रहस्य राम्रोसंग बुझेका आर्यहरुले ती दासहरुको मानसिकतामा कहिल्यै प्रतिशोधको भावना जागृत हुन नपाओस् भन्ने हेतुले उनीहरुको धर्म, संस्कृती र साहित्य समूल्नष्ट गरी दिए भने ब्रह्माका मुखदेखि ब्राह्मण पाखुराबाट क्षेत्री, नाईटोबाट बैश्य र खुट्टा बाट शुद्र (दास) को उत्पत्ती भएको भन्ने भ्रमित कुराको प्रचार गरे । फेरी गीतामा कृष्णले मान्छेको गुण र कामको आधारमा ४ बर्ण  मैले सृष्टि गरेको हुँ भनी अर्को भ्रामक प्रचार गरे । यदि ब्राह्मण र शुद्र एकै ब्यक्तिको शरीरबाट निस्केका वा गुण कर्मका आधारमा बनाइएका हुन्थे भने शुद्र अछुत कदापि हुने थिएनन् । बरु दासहरु आपसमा एक भएर पुर्खाको प्रतिशोध लिन नपाउन भनेर फुटाएर शासन गर्ने निति अनुरुप तिनीहरुको बिचमा पनि ठूलो र सानो जात बनाई उनीहरु एक आपसमा मिल्न, खानपान गर्न नपाउने र यदि त्यसो गरेमा दण्डित गर्ने स्थायी ब्यबस्था गरियो । यो ब्यबस्था नेपालका आर्य शासकहरुले कानुनी रुपमा नै बि.स. २०२० साल श्रावण मसान्तसम्म कडाईका साथ लागु गरेका थिए । आफ्ना पराजित पुर्खाको बदला लिन दासहरुले आर्यहरुको खानपानमा, पानी खाने इनार कुँवामा बिषादीको प्रयोग गर्न सक्ने, घर भित्रको भेद पाएमा अनेक षड्यन्त्र  गर्न सक्ने, पढे लेखेमा चेतना पाउने, बेद पढेमा वा सुनेमा आर्यहरुले आफ्ना पुर्खासंग गरेको महासंग्रामको जानकारी पाइ प्रतिशोध लिन सक्ने सभावना रहिरहने हुँदा त्यस्ता खतराबाट आफुहरुलाई सधै सुरक्षित राख्न आर्य मालिकहरुले ती दासलाई “अछुत”  बनाए । फलतः दासहरु आर्यको घरभित्र पस्न बस्न, पानीको इनार, कुवा, धारो र खानपान छुन, सम्पत्ति आर्जन गर्न र शिक्षा हाँसिल गर्न कहिल्यै नपाउने कडा ब्यबस्था मनुस्मृतिमा गरियो । यहाँसम्म की कुनै शुद्रले लुकी छिपी बेद पढेको वा सुनेको पाईएमा त्यसको कानमा पगालेको तातो शीशा खन्याएर मार्नु पर्ने ब्यबस्था गौतम स्मृतिमा पाइन्छ । पराजित शत्रुलाई जातीच्यूत गरी “अछुत” बनाउने काम कालन्तरमा आर्य र आर्य बीच पनि चल्न थाल्यो । एक राज्यको आर्य राजा र अर्को राज्यको आर्य राजा बीच युद्ध हुँदा पराजित राजाको बंश बंश नै सखाप पार्ने र यदि शत्रु बिजेताको साख्खै नाता भएमा मृतकका परिवार महिला, बालबच्चालाई जीवन दान त दिने तर जातीच्यूत गरी “अछुत” बनाई कडाईका साथ दमन गर्ने गरेको प्रमाण इतिहासमा गनिनसक्नु भेटिन्छ । एक उदाहरण  – गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्ना जेठान मकवानपुरे राजा दिग्बन्धन सेनको हत्या पश्चात मृतकका परिवार, बालबच्चालाई जातीच्यूत गरी “सार्की” बनाएका थिए ।  यसरी  अछुत बनाइएका दलितहरु र आर्यहरु शताब्दीऔं देखि एकै ठाउँमा उठबस र संसर्ग गर्दा आपसमा Cross-breeding हुन गई अचेल छ्यास्छ्यास्ती  बर्णशंकर हुन पुगेका छन् । जसले गर्दा को बाहुन, क्षेत्री आदि आर्य हो ? को कामी, दमाई दलित हो ?  छुट्टयाउनै गाह्रो भईसकेको छ । यति भईसक्दा पनि आर्य सन्ततीहरुले अमेरिका, युरोप, जापान, चीन, इरान, अरव आदि संसारभरका क्रिश्चियन, मुसलमान र अन्य जातका छोराछोरीसंग हाकाहाकी बिहे गरेका छन् जो हाम्रो समाजलाई सर्व स्वीकार्य छ, तर हजारौ बर्षदेखि आफ्नो धर्म, संस्कृतिबाट बिमूख भई आर्यहरुकै धर्म संस्कृतिलाई पछ्याउँदै आएका पराजित असुर एवं अन्य शत्रुका सन्तान दलितवर्गका छोराछेरीसंग बिहे गर्न भने आर्य खलक अझै तैयार छैन । त्यसै कारण पनि नेपालमा दिनहुँ सवर्ण– दलित संघर्ष चलिरहेको छ ।

 

जयस्थिती मल्ल, राम शाह, जंग बहादुर राणा आदि हिन्दू शासकहरुले दलितलाई कुकुर भन्दा तल्लो स्तरमा राख्ने कानुन बनाए । राज्य एकीकरण अभियानमा गोर्खाली पल्टन संगसंगै हिडेर भाँडाकुँडा, हातहतियार, झोला, जुत्ता, कपडा तयार पार्ने कामी, सार्की , दमाई र गोर्खाली बिजय अभियानको गीत र कार्खा गाउँदै गाउँ र बस्ती चाहारेर जनतामा देशको लागि लड्न मर्न तयार मनस्थिती बनाउने गाईनेहरुको पृथ्वी नारायण शाहदेखि भीमसेन थापासम्म कुनै शासकले रत्तीभर मुल्याङ्कन नगरेको इतिहास साक्षी छ ।

यसरी प्रष्ट हुन्छ कि देवासुर संग्राममा हारेर दास एंव अछुत बनाइएका असुरका सन्तानहरु, आर्य र आर्य बिच भएका युद्धमा पराजित शत्रुका जातिच्यूत गरी अछुत बनाइएका सन्तानहरु र शत्तासिन आर्यहरुको कट्टर बिरोध वा बिद्रोह गर्दा समय समयमा मारिएका सरदार र भारदारका जातिच्यूत गरी अछुत बनाइएका सन्तानहरुको समष्टिगत जमात नै बर्तमानको दलित समाज हो, जसलाई आजसम्म पनि  आर्य सन्ततीहरु र उनीहरुले सिकाए मुताविक मंगोल एवं स्वधर्मी र बिधर्मी सवैले मनमाफिक हेला होचों गर्ने वा दया देखाउने मौका पाइरहेका छन् । यस्तो अवस्था रहेसम्म नेपालमा शान्ति कसरी संभव होला ? यो कुरा सबै नेपालीले राम्ररी बुझेर दलित प्रति भईरहेको नकरात्मक ब्यबहारमा  आमुल परिवर्तन ल्याउनु आजको टड्कारो आवश्यकता देखिएको छ ।

  

क्षितिज कुमार रिजाल

काभ्रेपलान्चोक, सिम्थली