कविता –नासो- गोपालप्रसाद भण्डारी
Published : 1 month ago

नासो
ॐश्रीपरमात्मने नम : ।
मन्दाक्रान्ता छन्द ।
नासो तिम्रो हृदयतलमा साँच्छु माया मिलाई
हाँसो उम्दा मृदु मुटु छुने लाग्छ मीठो मलाई ।
चासो राखूँ प्रतिपल रमी सम्झनामा सजाई
गाँस` माया हरिहर भजी भावनामा भिजाई ।।१।।
प्रज्ञाप्रेमी प्रणवपदमा दिव्य निष्ठा चढाऔं
प्रेमी बन्दै प्रणयपदको प्रार्थनाले पलाऔं
पूजा गर्दै अवनितलमा भक्तिधारा बगाऔं
प्राणीलाई सुख दिन सकी जिन्दगानी जगाऔं ।।२।।
नासा साँची प्रगतिपथका साधनामा सजाऔं
नेताजीका अवगुण हटून् पाठ हामी सिकाऔं ।
नामी बन्ने गुरूगुण सिकी काव्य मीठा बनाऔं
नेपालीका कवि र कविता विश्वलाई चिनाऔं ।।३।।
खानी खन्ने प्रविधि गतिलो होस् र खानी खनाऔं
खेतालाको श्रम सब बुझी मूल्य हामी चुकाऔं ।
खेतीपातीतिर दिल दिई देशलाई सघाऔं
खाना मीठा असल गुनिला खान पाई रमाऔं ।। ४।।
सेवा गर्दै धरणितलको श्री प्रतिष्ठा कमाऔं
सच्चा मान्छे विमल दिलका मेदिनीमा उठाऔं ।
गोर्खालीका मति र पसिना देशभित्रै लगाऔं
नासा प्यारा मधुर मनका मान्यतामा मिलाऔं ।।५।।
रचयिताः गोपालप्रसाद भण्डारी
श्रीवल्लीधाम, बत्तीसपुतली, काठमाण्डू, नेपाल ।
हालः प्रतिष्ठानिकेतन, गार्ल्याण्ड् डालस्, टेक्सस, संयुक्तराज्य अमेरिका